रसुवाको टिमुरेमा भोटेकोशी बाढीले ठूलो विनाश—सयौं घर बगाए, १६ प्रहरी सम्पर्कविहीन

रसुवा। रसुवाको टिमुरे क्षेत्रमा आज बिहान तिब्बततर्फबाट भोटेकोशी नदीमा एक्कासि आएको भीषण बाढीले ठूलो विनाश मच्चाएको छ। बाढीका कारण टिमुरे बजारका अधिकांश घर तथा संरचना बगाएका छन्। प्रारम्भिक विवरणअनुसार बजारमा अब करिब ५–७ वटा घर मात्रै बाँकी रहेको बताइएको छ।

बाढीले रसुवा भन्सारको यार्ड समेत तहसनहस बनाएको छ। यार्डमा रहेका सवारीसाधन तथा अन्य सामग्रीसमेत बाढीले बगाएको प्रारम्भिक विवरण आएको छ।

स्याफ्रुबेँसीसहितका क्षेत्रमा पनि ठूलो क्षति

बाढीका कारण स्याफ्रुबेँसीसहितका बजार तथा बस्तीहरूमा समेत ठूलो क्षति पुगेको छ। सडक, पुल, ६ वटा जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचना बाढीको चपेटामा परेका छन्।

बाढी प्रभावित क्षेत्रमा खटिएका १६ जना प्रहरी अझै सम्पर्कमा आउन सकेका छैनन्। उनीहरूको खोजी तथा उद्धारका प्रयास जारी रहेको बताइएको छ।

भोटेकोशी हुँदै त्रिशूलीमा बढ्यो बाढी

भोटेकोशी हुँदै त्रिशूली नदीमा बढेको बाढीले बेत्रावती बजारसम्मै ठूलो क्षति पुर्‍याएको स्थानीय विवरण आएको छ। बाढीले बजार क्षेत्रलाई नै तहसनहस बनाएको बताइएको छ।

त्रिशूली नदीको बहाव तलतर्फ बढिरहेको भन्दै नुवाकोट, धादिङ हुँदै गोरखा र चितवनसम्मका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

टिमुरेदेखि त्रिशूली करिडोरसम्म विनाश

टिमुरेदेखि स्याफ्रुबेँसी, बेत्रावती हुँदै त्रिशूली करिडोरसम्म बाढीले ठूलो क्षति पुर्‍याएको छ। मानवीय क्षतिको पूर्ण विवरण भने अझै प्राप्त हुन सकेको छैन। सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

पत्रकारहरू सुरक्षित रहेको प्रारम्भिक जानकारी

हालसम्म पत्रकारहरू हताहत भएको कुनै खबर प्राप्त भएको छैन। श्रमजीवी पत्रकार संघ, नेपालले पत्रकारहरूको अवस्थाबारे थप जानकारी संकलन गरिरहेको जनाएको छ।

यो सामान्य बाढी नभई अचानक आएको अत्यन्तै शक्तिशाली बाढीका कारण उत्पन्न भएको ठूलो विपत्ति भएको बताइएको छ। प्रभावित क्षेत्रका नागरिकको सुरक्षा, उद्धार तथा राहतका लागि सबैले सद्भाव र प्रार्थना गर्न अपिल गरिएको छ। 🙏


? व्हाट्सऐप पर शेयर करें